दफा
विशेष परिस्थितिमा आदेश जारी गर्ने नेपाल सरकारको अधिकारः

(१) सार्वजनिक सुरक्षा एवं शान्ति सुव्यवस्थाको निमित्त आवश्यक देखेमा नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा देहायबमोजिम गर्न सक्छ ः–
(क) यो ऐन वा प्रचलित कानूनबमोजिम प्रदान गरिएको सबै वा कुनै लाइसेन्स वा प्रमाणपत्रलाई सो आदेशमा नेपाल सरकारले आवश्यक ठानी कुनै शर्त तोकिदिएको भए सोही शर्त बमोजिम र कुनै शर्त तोकि नदिएको भए विना कुनै शर्त रद्द वा स्थगित गर्न,
(ख) नेपाल भर वा त्यसको कुनै भाग माथि सबै वा कुनै श्रेणीको वायुयान उडाउने कामलाई सो आदेशमा नेपाल सरकारले आवश्यक ठानी कुनै शर्त तोकिदिएको भए सोही शर्तबमोजिम र कुनै शर्त तोकिनदिएको भए विना कुनै शर्त निषेध गर्न वा सोही आदेशमा तोकिएको अन्य तरिका बमोजिम व्यवस्थित गर्न,
(ग) विमानस्थल, वायुयान कारखाना, हवाईस्कूल वा क्लव वा वायुयान बनाउने वा मर्मत हुने वा राखिने अरू प्रकारको स्थान बनाउने हेरचाह एवं आवश्यक मर्मत गरी दुरुस्त राख्ने वा प्रयोग गर्ने कामलाई कुनै शर्त राखी वा नराखी निषेध गर्न वा व्यवस्थित गर्न,
(घ) कुनै वायुयान वा कुनै श्रेणीका वायुयान वा कुनै विमानस्थल वायुयान कारखाना, हवाई स्कूल वा क्लवलाई वा वायुयान बनाउने, मर्मत गर्ने वा राख्ने अरू प्रकारको स्थानलाई वायुयानको सञ्चालन, उत्पादन, मर्मत वा हेरचाहको निमित्त प्रयोग हुने यन्त्र, प्लान्ट वा अरू पदार्थहरू सहित तुरुन्त वा सोही आदेशमा तोकिएको समयभित्र तोकिएको तरिका बमोजिम तोकिएको अधिकारीका जिम्मामा सुम्पन निर्देशन दिने, त्यसरी सुम्पिएका कुराहलाई नेपाल सरकारले सार्वजनिक सेवामा प्रयोग गर्न सक्ने ।
(२) उपदफा (१) को खण्ड (ग) वा (घ) अन्तर्गत निकालिएको कुनै आदेशबाट कुनै व्यक्तिलाई प्रत्यक्ष रूपबाट कुनै हानी वा नोक्सानी हुन गएमा नेपाल सरकारद्वारा सो कामको निमित्त नियुक्त अधिकारीले निर्धारित गरेको क्षतिपूर्तिको रकम सो हानी वा नोक्सानी वापत निजलाई दिइने छ ।
(३) उपदफा (१) अन्तर्गत निकालिएको कुनै आदेशको पालनको लागि नेपाल सरकारले आफूले आवश्यक ठानेको कदम उठाउन वा उठाउन लगाउन सक्छ ।
(४) कुनै व्यक्तिले उपदफा (१) अन्तर्गत निकालिएको आदेशको पालन नगरेमा वा त्यस्तो आदेशको उल्लंघन हुने कुनै काम कारवाई गरेमा निजलाई तीन वर्षसम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।